२०८३ आश्विन २९ बिहीबार
२०८३ आश्विन २९ बिहीबार
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो ।

पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत उनले दिएका छन् ।

“उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ । उहाँ सिनेमाको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,” निर्देशक मिलन चाम्सले भने, “जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।”

दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिएका छन् ।

‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ ।

अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन् ।

चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ ।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।

आगामी विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको हो।

‘पीजी’ प्रमाणपत्र पाएसँगै अब यो फिल्म हेर्नका लागि १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले आफ्ना अभिभावकलाई साथमा लैजानुपर्ने छ।

चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

पारिवारिक प्रेम, सम्बन्धको मिठास तथा आमा र सन्तानको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्मका गीत, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरिसकेका छन्। फिल्मको ट्रेलरले रिलिज भएको एकै दिनमा ३७ लाखभन्दा बढी भ्युज कमाइसकेको छ भने दसैँ गीत ‘क्या दामी देखिया’ ले ६ दिनमै ४३ लाखभन्दा बढी भ्युज प्राप्त गर्दै दर्शकको अत्यधिक साथ पाएको छ। त्यसैगरी, यसअघि सार्वजनिक भएको गीत ‘अचेल किन कान्छी’ ६४ लाख पटक हेरिइसकेको छ भने फिल्मको टिजरले पनि उस्तै बलियो साथ पाएको छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद पनि रोशन भट्टकै रहेको छ। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत तथा गम्भीर बिष्टको नृत्य निर्देशन रहेको यस फिल्मका प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन्। साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।

निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ । तीन हप्तामा चलचित्रको छायांकन सकिएको हो ।

काठमाडौंका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको थियो । सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ ।

‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् ।

पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । यस्तै सिनेमामा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ ।

यस चलचित्रको लेखन पनि निर्देशक खनाल स्वयंले गरेका छन् । चलचित्रको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् ।

करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायाकार कृष्ण बा. थापा हुन् ।

गम्भीर कथावस्तु उठान गर्ने निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले चलचित्र ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक हुने बताए ।

“नेपाली दर्शकले अहिले मन पराउने र टेस्टमा सिनेमा बनेको छ,” उनले भने, “यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर सिनेमा बनाएका छैनौँ, इमान्दार भएर सिनेमा बनाएका छौँ ।”

आम नेपालीको घरमा दिनदिनै घट्ने घटनाक्रममा सिनेमा बनेकाले दर्शकको रोजाइमा चलचित्र पर्ने उनको विश्वास छ । श्रीमान् र श्रीमतीको सम्बन्धका उतारचढाव सिनेमाको मुख्य कथा रहेको उनले प्रस्ट पारे ।

निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।